कोरोना कहरले समस्यामा परेको दैलेखमा खाद्यान्न संकट नहोस भन्ने उद्देश्यले जिल्लाभरका बिभिन्न स्थानहरुका लागि २८ हजार ५ सय क्विन्टल खाद्यान्न माग गरिएको छ । जिल्ला खाद्य व्यवस्था समितिको बैठकले दैलेख शाखाका लागि ७ हजार, नौमूलेका लागि ४ हजार, डिपो बेस्तडाका लागि ४ हजार ५ सय, डिपो दुल्लूका लागि ३ हजार ५ सय, चामुण्डाबिन्द्रासैनी डिपोका लागि ५ हजार, ठाँटीकाँध डिपोका लागि ४ हजार ५सय क्विन्टल चामल माग गरिएको खाद्य व्यवस्था तथा व्यपार कम्पनी दैलेख शाखाका प्रमुख रणबहादुर ऐरीले जानकारी दिएका छन् ।
डिपोमा यसअघि भएको ३ हजार ७ सय ८२ क्विन्टल खाद्यान्न मध्ये कोरोना संक्रमण चेपेटालाई मध्यनजर गर्दै बिपन्न समुदायका जनताहरुलाई १० प्रतिशत रकम छुट गरी २ हजार ३ सय ६ क्विन्टल चामल बिक्रि बितरण भएको छ । अहिले दैलेखमा १ हजार ४ सय ७६ क्विन्टल चामल स्टक रहेको छ ।
बैठकमा प्रतिनिधि सभाका सदस्य रबिन्द्रराज शर्माले कोरोनाको संक्रण पुनः बढ्दै गएका कारण जिल्लाका आम नागरिकहरुको खाद्य सुरक्षाका लागि जिल्लामा आवश्यक पर्ने चामलको माग गरीएको बताएका छन् । दैलेख सदरमुकाममा बितरण डिपो स्थापना भए जाजरकोट, कालिकोट, जुम्ला, मुगु र अछाम सम्म खाद्यान्न ढुवानीमा सहज हुनुका साथै भाडादर पनि सस्तो हुने र राज्यको रकम जोगिने भएकोले दैलेखमै रिले केन्द्र स्थापना गर्नका लागि ५ हजार क्विन्टल खाद्यान्न अट्ने गोदाम र अन्य पूर्वाधार निर्माणमा सरकारले सहयोग गर्नुपर्ने बताउँदै आफु यस बिषयमा गम्भिर भएर लाग्ने बताएका छन् ।
पालिकाका बिभिन्न स्थानहरुमा संचालन भएका खाद्य डिपोहरुको भौतिक पूर्वाधार विकासका लागि स्थानीय, प्रदेश र संघ सरकारबाट आवश्यक रकम बिनियोजन गरेर भौतिक संरचना निर्माणको काम यसै आ.व.बाट सुरु गर्ने निर्णय समेत बैठकमा गरिएको जिल्ला समन्वय समिति दैलेखका प्रमुख प्रेम थापाले जानकारी दिएका छन् ।
बैठकले सडक पहुँच भएका स्थानहरुका राज्यले दिने सहुलियत वस्तुहरु चामल, दाल, नुन, तेल, चिनी, ग्याँस, ईण्डेक्स चुलो लगायतका उपभोग्य बस्तुहरु शाखा अन्तर्गतका पालिका र डिपोहरुमा ल्याउने व्यवस्था मिलाईदिन खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रधान कार्यालय काठमाडौंलाई अनुरोध गरेको छ ।









